आफूलाई प्रेम गरेपछि मात्रै अरूलाई।


फुलकुमारी प्रति समर्पित ।

कति भाग्यमानी होला त्यो व्यक्ति, जसले उनीसँग बाँकी जीवन बिताउने अवसर पाउँछ। उनलाई म सृष्टिको सबैभन्दा उत्कृष्ट व्यक्ति भन्दिनँ, तर उनी मेरो लागि पूर्ण छिन्। उनको सामिप्यमा बिताएका प्रत्येक क्षण अत्यन्तै मधुर लाग्छन्। हामी अहिले त साथीसमेत भएका छैनौँ। भाग्यमा लेखिएको भए नियतिले हामीलाई एकसाथ ल्याउनेछ; नभए केही हुँदैन।

आखिर जीवन यस्तै हो, होइन र?

मेरो एउटा साथीले पैलै भनेको थियो, “कसैलाई हेरेर मात्र केही हुँदैन। हिन्दी फिल्मजस्तो प्रेम वास्तविकतामा सम्भव छैन। त्यसैले उनीसँग त्यस्तै व्यवहार गर, जस्तो तिमी सबैसँग गर्छौ। तिमी त्यस्तो व्यवहार नगर, जुन अरूले तिमी सँग गर्न नचाहून्।”

भन्छन्—कसैको साथ पाउनुअघि, तपाईं त्यो व्यक्तिलाई योग्य हुनुपर्छ।
यदि सुन्दरताको कुरा गर्ने हो भने उनी मभन्दा धेरै सुन्दर छिन्। हाम्रो जोडी मिल्छ जस्तो मलाई लाग्दैन। उनको बोली मीठो छ, बानी–व्यवहार पनि उत्कृष्ट छ।

अनि, आखिर किन उनले मलाई साथी बनाउनुपर्छ?
जरूरी त छैन। राम्रा बानीहरू कायम राख्छु। उनलाई सधैं सम्मानका साथ सम्बोधन गर्छु। उनी नभएको रिस कहिल्यै हाम्रो संवादबीच आउन दिन्न। उनका राम्रा बानीहरू सिक्छु। उनकाे पुरुष साथीप्रति इर्ष्या गर्दिनँ।

उनी मात्र होइन, आफ्ना नजिकका सबैसँग उस्तै व्यवहार गर्छु। पढाइमा उत्कृष्ट बन्न प्रयास गर्छु। राम्रो बानी बसाल्छु।

अरे, आखिर यी त गर्नैपर्ने कुरा हुन्, होइन र? म पनि...

खैर, सबैभन्दा पहिले आफूलाई प्रेम गर्छु, अनि उनलाई।

Post a Comment

Previous Post Next Post