मलाई लाग्ने गर्छ, मैले तिमीलाई सुनिरहन, हेरिरहन पाए कति रमाइलो हुने थियो। म खुसी हुने थिएँ। तर केही समयपछि के गर्ने थिएँ? वाक्क हुने पो थिएँ कि? कस्तो हुँदो हो तिमीदेखि वाक्क हुँदा? कोही हुन सक्छ होला र?
तिमी हरियो स्वेटर लाउँदा या सेतो कुर्तामा रातो टीका लगाउँदा अनि तिमीलाई देख्दा, म पनि तिम्रो नजिक भइदिएँ, उनीहरूजस्तै तिमी हाँसेको हेरिरहन पाएँ जस्तो लाग्छ।
तिमी यति मधुर कसरी हुन सक्छौ?
तिमी छौ। तर तिमी मात्र पनि छैनौ। तिमीमा मैले मेरा भावना देख्छु। मेरो नजरमा, तिमी बहुत कम आफू हौ, बाँकी सबै मेरा भावना त हुन् नि।
मलाई तिमीलाई पाउने कुनै आशा, चाहना छैन। किन थाहा छ? तिमीलाई पाएँ भने के पाउन बाँकी हुन्छ? भन त। अनि जिन्दगी झनै बोरिङ हुन्छ।
अनि तिमीलाई पाउन किन पर्यो फेरि? आखिर तिमी पनि मजस्तै अनि अरूजस्तै त हौ। हैनौ र? हड्डी, मासु, चञ्चलता अनि जीवन। तर तिमीसँग आफ्नो विचार पनि छ। मैले तिमीलाई आफ्नो विचारकै लागि पनि आफू नजिक आउ भन्न सक्दिनँ। तिमीसँग के छ, जसले मलाई यसरी तानिरहेकी छौ? कुनै कोठामा मेरो सूक्ष्म ध्यान तिमीतिरै हुन्छ। मेरो मनको Defilement हुनुपर्छ कि तिमीले त्यसरी भन्दा पनि मैले आफूलाई Detach गर्न नसक्नु। समयलाई पर्खीरहेको छु।
तिमीलाई पाउनुको के तुक बन्यो? कसैले कसैलाई कसरी पाउन सक्छ? कसैले कसैलाई कसरी चिन्न सक्छ, ऊ आफैँले आफूलाई चिनेको छैन भने? म आफैँ खुशी छैन भने तिमीलाई कसरी खुशी बनाउन सक्छु? म आफैँले आफूलाई पाउन सक्दिनँ भने तिमीलाई कसरी पाउन सक्छु?